स. सम्वाददाता
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिले एमालेको कार्यकर्ता होईन जनताको साझा प्रतिनिधि बनेर काम गर्न आग्रह गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिबेशन प्रतिनिधि परिषद्को उद्घाटन एवं जिफन्ट अन्तर्गतका नव–निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई सम्मान गर्दै उनले जनतामाझ जनप्रतिनिधिले सहि काम गरेर देखाउन निर्देश गरे । जनप्रतिनिधिलाई एमालेले पत्याएको र जनताले जिताएको भन्दै उनले भने, स्थानीय तहमा तपाईहरु एमाले वा जिफन्टको कार्यकर्ताको रुपमा काम नगरी जनताको साझा प्रतिनिधिको रुपमा काम गर्न सुझाव दिएका थिए ।
उनले अहिलेको सरकारप्रति व्यङ्ग्य गर्दै भने, “यो सरकार र सरकारी गठबन्धन त्यत्रोबिना सुन्ने,बुझ्ने फुर्सद भएको सरकार पनि होईन र बुझ्दा पनि बुझ्दैन । मलाई कसैले चाईनिज भाषामा भन्यो भने मैले के बुझ्छु ? अहिलेको सरकारमा विकास र परिवर्तनका कुरा मैंले चाईनिज नबुझेजस्तै हो” उनले भने । आफुले विकासका कुरा गर्दा उखान टुक्काको संज्ञा नदिन उनले सबैस“ग आग्रह गरे ।
कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमाल लगायत नेताहरुले जनप्रनिधिहरुले सम्पूर्ण क्षेत्रमा मजदुरका आवाज उठाउनुपर्ने, मर्यादित श्रम,सामाजिक सुरक्षा, मजदुरको पहिचान लगायतका विषयमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा माधव न्यौपाने स्मृति अवार्ड,नुरु वाङ्छु स्मृति अवार्ड, गंगादेवी छात्रवृति, गंगादेवी स्वास्थ्य उपचार सहायता प्रदान गर्नुका साथै एमाले निकट नेपाल ट्रेड यूनियन महासंघमा आबद्ध भएर स्थानीय तहमा विजयी करिब साँढे २ सय जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।