काष्ठकलातर्फ आकर्षित बन्दै बुङ्मतिका युबाहरु

ललितपुर । ललितपुरको पुरानो नेवारी बस्ति बुङ्मति पर्यटकीय गन्तब्य पनि हो।बिदेशी तथा स्वदेशी पर्यटकहरुको रोजाईमा पर्नुको प्रमुख कारण त्यहाँको पुरानो कलाकौशल,रितिरिवाज र संस्कृति नै हो ।पौराणिक सम्पदा र धार्मिक तथा सास्कृतिक कला कौशललाई जोगाई राख्न बुङ्मतिका युवालाई काष्ठकलाको तालिम दिइएको छ । यूरोपियन यूनियनको आर्थिक सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत सञ्चालित ‘पर्या सम्पदा परियोजनाले युवालाई काष्ठकलाको तालिम दिएको हो ।

बुङ्मतीमा रहेका काष्ठकला तथा ऐतिहासिक महत्वका धार्मिक सम्पदाको संरक्षणका लागि युवामा जागरण अभियानका लागि काष्ठकलाको तालिम दिइएको हो। यस क्षेत्रको सामाजिक सभ्यता, सांस्कृतिक तथा धार्मिक महत्वका काष्ठकलालाई संरक्षण र सम्वद्र्धन गर्न तथा युवामा पौराणिक सीपको महत्व बुझाउनका लागि तालिम आवश्यक रहेको परियोजनाको भनाइ छ ।

‘काष्ठकलाका सिकारु धेरै थिए तर सिपालु कोही पनि थिएनन्’, विगत १० वर्षदेखि काष्ठकलाको तालिम दिँदै आउनुभएका कष्ठकला प्रशिक्षेक महेश शाक्य भन्नुहुन्छ, ‘पर्या सम्पदा परियोजना अन्तर्गत रहेर मैले गतवर्ष पनि केही युवा पीडिहरुलाई तालिम दिएको थिएँ र यो वर्ष पनि दिएँ ।’

परम्परागत तरिकाले मात्रै काष्ठकालाको काम गरिरहेकोमा अहिले व्यवस्थित तरिकाले काम शुरु भएपछि सजिलो भएको शाक्यको भनाइ छ ।

पुल्चोकमा रहेको ‘नेपाल परम्परागत हस्तकला पशिक्षण केन्द्रमा साँढे दुई वर्ष तालिम लिएर अरुलाई प्रशिक्षण शुरु गर्नुभएको शाक्य काष्ठकलासम्बन्धी तीन वटा नेश्नल अवार्डबाट पनि सम्मानित हुनुभएको छ ।

उहाँले तालिम दिएको युवा पिडीहरु सबै यही पेशामा लागेर आत्मनिर्भर भइरहेकोमा खुशी व्यक्त गर्दै मास्के भन्नुहुन्छ, ‘परम्परागत काम गरिरहेका युवामा तालिमपछि आत्मविश्वास जागेको छ र काममा सुधार भएको छ, धरैजसो गृहिणी हुनुहुन्छ तर घरायसी काम भ्याएर पनि यो पेशाबाट मासिक १५ देखि १८ हजारसम्म आम्दानी गर्न सफल भइरहेका छन् ।’

अहिले कोरोना संक्रमणको महामारीमा भने यो पेशामा मन्दी आएको उहाँ बताउनुहुन्छ । ‘केही सामान घरैमा थन्किएका छन्, नयाँ अर्डर आएका छैनन् र पूरानो अर्डरमा बनाइएको सामान पनि क्यान्सिल भएको छ ।’
कोरोना संक्रमणको महामारी सकिएपछि पुनः यस क्षेत्रको काष्ठकलाको व्यवसाय पूर्ववत रुपमा सञ्चालन हुनेमा शाक्य विश्वस्त हुनुहुन्छ ।

पुरातन संस्कारमै हुर्किएको र हामी २१औं शताब्दीको एक चौथाई पार गरिसक्दा पनि आधुनिकताले नछोएको बुङमतीका महिलाहरु गृहिणीको घेरा तोडेर हस्तकलाको तालिममा सहभागि भएका छन् । पर्या सम्पदा परियोजनाकै पहलमा महिलाहरु गृहिणीबाट बाहिर निस्किएर हस्तकलाको व्यवसायमा आउन सफल भएका हुन् । यहाँका महिलाहरुले परालबाट सुकुल, गुन्द्री र मकैको खोस्टाबाट चकटी, पूजाका सामग्री राख्ने ढक्की तथा विभिन्न नेवारी संस्कारमा प्रयोग हुने सामग्री पनि निर्माण गरिरहेका छन् । यहाँको यस्ता हस्तकलाका सामग्री हेर्न तथा खरिद गर्नका लागि बाह्य तथा आन्तरिक पर्यटकहरु उत्तिकै चाख लिएर आउने गरेको स्थानीय महिला बताउँछन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला अन्तर्गत ललितपुरको दक्षिणी भेगमा अवस्थित बुङमतीले नेवारी सभ्यता र संस्कार भएको ऐतिहासिक शहरको रुपमा आफूलाई जिवन्त राखिरहेको छ । आधुनिकताले पटक्कै नछोएको यो शहरमा अहिलेसम्म पनि पुरातन डिजाइन र आकारका घरहरु देख्न पाइन्छ । उपत्यकाको सबैभन्दा लामो तथा प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा (जात्रा) पनि बुङमतिमै पुगेर विसर्जन हुने भएकाले यो शहरको महत्व र गरिमा झनै बढेको छ ।

यस शहरको सम्पदाहरुको संरक्षण गर्नका लागि पर्या सम्पदा परियोजना अन्तर्गत काष्ठकला, ढलोट तथा तामाको सामग्री निर्माणको तालिमका साथै बुङ्मतिको ढोकातिनी फल्चा मर्मत, देपु पोखरी निर्माण, साइकल पार्क, बिश्राम स्थल, बुङ्मति संग्रहालय, मछिन्द्र बहालको ता फल्चा मर्मत सम्भार, प्रथम पुः बिहार मर्मत कार्य सम्पन्न गरेको छ ।
बुङ्मतिको सम्पदा संरक्षण अभियानमा लुमन्ती, सीआइयूडी, सभा नेपाल र आईएचएस संस्था सन् २०१८ देखि क्रियाशिल रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest