स.सम्बाददाता
नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको स्वागत कार्यक्रममा पर्यटन बोर्डको पुनर्संरचना आवश्यक रहेको औल्याइएको छ । नेपाल पर्यटन बोर्डलेआयोजना गरेको स्वागत कार्यक्रममा बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले मन्त्री सुदन किराँतीलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यसबाट उचित लाभ लिन नसकिरहेको बताउँदै पर्यटनबाटै आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गर्नु भयो । मन्त्री किराँतीले नीतिगत सुधारको कामको थालनी भइसकेको भन्दै रचनात्मक कार्यका लागि मन्त्रालय सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष सुरेश अधिकारीले नीति, बजेट र कार्यक्रम सबैमा बोर्डको पुनःसंरचना आवश्यक रहेको भन्दै अब सोही अनुरुपको ऐन ल्याउनु पर्नेमा जोड दिनु भयो ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन मन्त्रीलाई पर्यटन व्यवसायीको अभिभावकत्व निर्वाह गर्दै कार्य गर्न आग्रह गर्दै त्यसको लागि निजी क्षेत्र सधै.साथमा रहको बताउनु भयो ।
होटल संघ (हान) का अध्यक्ष सिर्जना राणाले पर्यटन उद्योगलाई अन्य उद्योग सरहको मान्यता दिन माग गर्दै राज्यले पर्यटनबाट उचित लाभ लिन सोही अनुरुपको नीति र कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । साथै बोर्डमा पर्यटन क्षेत्रबाट संस्थागत प्रतिनिधित्व हुने गरि पुनःसंरचना हुनु पर्ने बताउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिन माग गर्दै पर्यटन बोर्डले गरेका गतिविधि र कार्यक्रमबारे जानकारी दिनुभयो । कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै बोर्डले निजी क्षेत्रको पुलको रुपमा काम गर्दै आइरहेको बताउनु भयो