पर्यटकलाई अनअराइभल भिसाको तयारी,आगमनको मापदण्ड खुकुलो बनाइने

स. सम्बाददाता  । कोभिड–१९ महामारीबाट सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ । पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले कोभिड विरुद्धको खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र सोही अनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण थलिएको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने  विषयमा मन्त्रालयमा पर्यटन विटका पत्रकारसँगको छलफल र सुझाव लिँदै पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताउनु भयको छ ।पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषयलाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने बताउनुभयो ।

उहाँले गुणात्मक पर्यटक भित्र्याउन, दिगो पर्यटन रणनीतिका कार्यक्रम अघि बढाउन मन्त्रालय लागि परेको जानकारी दिनुभयो ।आफु ठूलो महत्वकांक्षी आयोजना ल्याउने पक्षमा नभयको भन्दै चुनाबको घोषणा भैसकेको हुदा  जति गर्न सकिन्छ राम्रो गरेर जाने हो,  नीतिमा निरन्तरता छ, यसअघिका कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्तरता दिने पक्षमा छु”, मन्त्री ढकालले भन्नुभयो ।

पर्यटक आवागमनलाई सहज तुल्याउन मन्त्रालयकातर्फबाट लागि परेको उहाँको भनाइ छ ।“हिजो आफू स्वास्थ्य तथा जनस्ख्यामन्त्री हुँदा स्वास्थ्य प्रोटोकल बनाएको आज पर्यटनमा आउँदा नैतिक रुपमा आफैले बनाएको मापदण्ड खुकुलो बनाउनुपर्ने बाध्यता आइपरेको छ, पर्यटनमन्त्री ढकालले भन्नुभयो, “तर, हिजोको जस्तो २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भन्ने कुरा रहेन । आज सत्तारुढ तथा सत्ता बाहिरका राजनीतिक दलले ५०औँ हजार मानिस जम्मा गरेर दैनिकजसो सभा सम्मेलन गरिरहेका छन््, त्यसैले हिजोको मापदण्ड परिवर्तन गरेरै जानुपर्छ, मन्त्रालय यसमा लागिसकेको छ ।”

पिसीआर नेगेटिभ रिपोर्ट भए क्वारेन्टिन बस्नु नपर्ने

हाल ७२ घण्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकाबेला पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने भएको छ । पर्यटनमन्त्री ढकालले पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र सिसिएमसीलाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी दिनुभयो ।

कोभिडको खोप लगाएर आएका पर्यटकको सहज आवागमनका लागि सार्वजनिक रुपमा सूचना जारी गरिनेछ । पर्यटनमन्त्री ढकालले कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई सहज वातावरण तुल्याउन अन्तर मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरी अब एक्सनमूलक काम गर्नेगरी मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

भारतलगायत मुलुकबाट धार्मिक पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक कार्यक्रम गरिनुकासाथै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिइने उहाँको भनाइ छ । पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डलाई प्रभावकारी बनाउनुका साथै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गरी क्षमता अभिवृद्धिजस्ता कामलाई विशेष महत्व दिइने पर्यटनमन्त्रीको योजना छ ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्राथमिकतामा

पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन अध्ययन गरी सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेर बाँकी काम द्रुत गतिमा अघि बढाइने जानकारी दिनुभयो ।

हाल भैरहवा विमानस्थलको ९८ प्रतिशत र पोखरा विमानस्थलको ७० प्रतिशत भौतिक प्रगति भएको । अबको केही महिनाभित्रै यी विमानस्थलमा जहाज उडाउने सरकारी योजना छ । त्यसैगरी निजगढ विमानस्थलमा लगानी मोडालीटी टुङ्ग्याउने प्रक्रियामा छ । विमानस्थलको चार किल्ला घेरी तारबार गर्ने र जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन मन्त्रालयले योजनाबद्ध रुपमा कार्यक्रम अघि बढाउने बताउनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest